
काठमाडौं । शुक्रबारदेखि काठमाडौंको आकाश धुम्म भएको। न राम्ररी घाम लाग्न सकेको छ, न त बेस्सरी हावा नै चलेको छ।चैतमा पनि बाक्लो जाकेट लगाउनु पर्ने गरी चिसो बढेको छ। हावामा प्रदुषणको मात्रा पनि उत्तिकै छ।
तीन दिनसम्म राम्ररी घाम लाग्न नसकेपछि आममानिसलाई जिज्ञासा छ- कहिलेसम्म यस्तो भइरहन्छ?मौसमविद्हरूका अनुसार कम्तिमा पनि सोमबारसम्म काठमाडौं उपत्यकाको आकाश अहिलेजस्तै धुम्म भइरहने छ।
‘मंगलबारदेखि केही खुल्ने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलले भनिन्।
चैत-वैशाखमा नेपालमा प्रिमनसुन सिजन चल्छ। यो बेला पश्चिमी वायुले ल्याउने प्रणालीसँगै स्थानीय मौसम प्रणालीका कारण साँझपख हावाहुरी, चट्याङसहित हल्काफुल्का असिना पानी पर्ने गर्छ।
बिहानैदेखि घाम लागेपछि सतहको जमिन तातेर हावामाथि गएर सानो-सानो क्षेत्रमा हावाहुरी र पानी चल्ने यो बेला अहिले भने काठमाडौंको वायुमण्डल स्थिर भएर बसेको छ।
‘पश्चिमी वायुको प्रणाली पनि कमजोर छ। घाम नलागेकाले यहाँको जमिनको सतह पनि राम्ररी तात्न नपाएकाले वायुमण्डल स्थिर छ,’ मौसमविद् पोखरेलले भनिन्,‘यसलाई हटाउन कि बेस्सरी घाम लाग्नु पर्यो, की हावा चल्नु पर्यो कि पानी पर्नुपर्यो।’अहिले एकातिर आकाश धुम्म भएको छ भने अर्कातिर हावामा प्रदुषणको मात्रा धेरै नै छ। गत सातादेखि बढेको प्रदुषणको मात्रा आइतबारसम्म घटेको छैन।
आइतबार काठमाडौंसहित देशका अधिकांश सहरमा वायु प्रदुषण खतराको तहमाथि छ। वातावरण विभागको तथ्यांकअनुसार चितवनको सौराहामा एयर क्वालिटी इन्डेक्स ३६४ छ भने ललितपुरको भैंसेपाटीमा ३२१ छ। त्यस्तै भक्तपुरमा २८३, टियू कीर्तिपुरमा २६८, धनगढीमा २५७ र पोखरामा २३५ छ।
हावामा प्रदुषणको मात्रा एयर क्वालिटी इन्डेक्स (एक्युआई) मार्फत् नापिन्छ।
एक्युआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्युआई१५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्युआई३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।
पूर्वसचिवसमेत रहेका मौसमविद् ऋषिराम शर्माले अहिले नेपालमा बढेको प्रदुषणमा नेपालको डढेलोसहित भारतमा भएको प्रदुषणको पनि हात रहेको बताए।
‘अहिले नेपालका धेरै ठाउँमा डढेलो लागेको छ। भारतमा पनि अहिले प्रदुषण धेरै छ। विशेषगरी पञ्जाबमा अहिले गहुँ काट्ने सिजन चलिरहेको छ,’ शर्माले भने,‘थ्रेसरले गहुँ झार्दा निस्कने धुलो पनि नेपाल आइपुगेको छ।’
चैत-वैशाखमा डढेलो लाग्नु सामान्य प्रक्रिया हो। अघिल्ला वर्षहरूमा पनि डढेलो लाग्थ्यो तर काठमाडौंमा यति धेरै प्रदुषण हुँदैनथ्यो।
‘यसपालि धेरै नै डढेलो लाग्यो र पानी पनि एकदमै कम परेकाले पनि समस्या बढेको हो,’ महाशाखाकी मौसमविद् पोखरेलले भनिन्।
महाशाखाको रेकर्डअनुसार मार्च महिनामा काठमाडौंमा औसतमा ३४.२ मिलिमिटर पानी पर्थ्यो तर यसपालि मार्च सकिनु तीन दिनअघिसम्म जम्मा ६.६ मिलिमिटरमात्र पानी परेको छ।
‘एकातिर पानी कम पर्यो, अर्कातिर डढेलो धेरै लाग्यो र पश्चिमी वायुले पनि धुलोका कण बोकेर ल्याएकाले यस्तो समस्या भएको हो,’ पोखरेलले भनिन्।
काठमाडौंको वायु प्रदुषणले खतराको तह पार गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, मर्निङ वाक र घरबाहिर खुला स्थानमा गरिने व्यायाम नगर्न भनेको छ। साथै बालबालिका र दीर्घ रोगीको विशेष ख्याल गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
अनिवार्य मास्क लगाउन, सवारी साधन कम चलाउन र धुँवा-धुलो उत्सर्जन गर्ने उद्योग, कलकारखाना केही दिन बन्द पनि मन्त्रालयले भनेको छ।
