रामबहादुर चौहानको अधक्ष्यतमा अर्घाखाँचीमा एमालेको समानान्तर कमिटी

१५ चैत्र २०७७, आईतवार १०:५०

 

बुटवल । नेकपा एमालेको माधव नेपाल पक्षले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको हो ।

सर्वोच्चको फैसलाले पार्टीलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काएको हुनाले तत्कालीन जिल्ला कमिटीको वैठक बसेर पुनर्गठन गरिएको अध्यक्ष चौहानले बताए ।

 

सचिवालय सदस्यहरुमा तत्कालीन उपसचिव प्रेम नारायण गैरे, कूलदीप भूसाल, भविश्वर पाण्डे, सिद्धी भुसाल, सरोज भुसाल, सुनिता बेल्बासे, सुमित्रा मुखिया, पुष्पा भाट, हृदय भुसाल, तारापति भट्टराई रहेका छन् ।

‘अदालतको फैसला अनुसार विधिसम्मत तरिकाले जिल्ला कमिटी पुनर्गठन गरेका हौं, यो समानान्तर नभई आधिकारिक जिल्ला नेतृत्व हो,’ चौहानले भने, ‘चैत मसान्तभित्र जिल्लाका सबै पालिका, वडा र टोलसम्म पार्टी र जनसंगठनका कमिटिहरु पुनर्गठन गर्ने निर्णय गरेका छौं ।’

बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवं पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसाल, संविधान सभा सदस्य डा.दुमन थापा, प्रदेश कमिटी सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाललगायतले बोल्दै एमालेलाई विधि, प्रकृया र जनचाहाना अनुरुप अघि बढाउन समानान्तर कमिटी गठन गर्नुपरेको बताएका थिए ।

अर्घाखाँचीमा ओली पक्षका चेतनारायण आचार्य जिल्ला अध्यक्ष छन् ।