जिल्ला अदालतबाट सफाइ पाएका सिद्धबाबालाई उच्च अदालतले बोलायो

१३ चैत्र २०७७, शुक्रबार १८:०९

 

विराटनगर। जिल्ला अदालतबाट बलात्कार आरोपको मुद्दामा सफाइ पाएका धर्मगुरु कृष्णबहादुर गिरी (सिद्धबाबा)लाई उच्च अदालत विराटनगरले उपस्थित हुन आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार शुक्रबार उच्च अदालतले १५ दिन भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । ‘झगडिया झिकाउने आदेश भन्दै न्यायाधीश प्रेमराज ढकाल र रेनुका शाहको इजलासबाट आदेश आएको हो,’ उनले भने ‘आदेशमा १५ दिन भित्र उपस्थित गराउन भनिएको छ ।’

अदालतमा झिकाएर पुनः बयान लिएपछि मुद्दाको प्रक्रिया अघि बढ्ने सूचना अधिकारी सुवेदीले बताए । ‘अब म्याद जारी गर्ने तयारी भएको छ, म्याद जारी गर्दा पनि उपस्थित नभएमा प्रहरीले ल्याउनेछ,’ उनले भने ‘उच्च अदालतले जिल्लाको फैसला बुझ्न ‘झगडीया’ झिकाएको हो ।’ गिरीलाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।

२०७६ कात्तिक ४ गते राती गिरीले करणी गरेको भनि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो । महिलाको चरित्रमाथि प्रश्न उठाउँदै सहमतीमा भएको सम्पर्कलाई करणी भन्न नमिल्ने उक्त जिल्ला अदालतको फैसलामा उल्लेख छ ।

‘जाहेरवाली र प्रतिवादीबीच आदानप्रदान भएका म्यासेजबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने  बताइए पनि अभियोग बिमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन,’ जिल्ला अदालतको फैसलामा भनिएको छ ।

फैसला भएको पनि दुई महिना पछि मात्रै अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थियो । जिल्ला अदालतबाट गिरीलाई सफाइ दिने न्यायाधीश अर्जुनप्रसाद कोइराला भने गत फागुन २८ गते नै उच्च अदालतको न्यायाधीश नियुक्ती सिफारिसमा परेका थिए । जिल्ला अदालतले सफाइ दिएपछि गिरी सुनसरीको चतरास्थित आश्रममा बसिरहेका छन् ।