निजी क्षेत्रले तत्काल खोप ल्याउने सम्भावना छैन

९ चैत्र २०७७, सोमबार ११:५८

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले निजी क्षेत्रले तत्काल कोभिड–१९ विरुद्धको खोप ल्याउने अवस्था नरहेको जनाएको छ । संघका अध्यक्ष मृगेन्द्र श्रेष्ठले विश्व बजारमा नै खोप उत्पादन कम भइरहेकाले तत्काल नेपाली आयातकर्ताले खोप ल्याउन सहज नभएको बताए । “हामीले भारतका सिरम र बायोटेक दुवै कम्पनीसँग खोप ल्याउनका लागि पहल गरिरहेका छौँ । तर, उत्पादक कम्पनीले पनि सबै मुलुकमा खोप पुर्‍याउनुपर्ने भएकाले निजी क्षेत्रले अहिलेसम्म खोप ल्याउन सकेको छैन,” श्रेष्ठले बाह्रखरीसँग भने ।

औषधि व्यवस्था विभागले यसअघि सात दिनको म्याद राखेर खोप ल्याउन इच्छुक तथा योग्य आयातकर्तालाई प्रक्रिया पुर्‍याएर दर्ता हुन आवेदन खुला गरेको थियो । तर, सात दिनभित्र कुनै पनि कम्पनीको आवेदन नपरेपछि आइतबार पुनः सूचना प्रकाशन गरी सात दिन म्याद थप गरिएको छ ।

नेपालमा अहिलेसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख, सरकारले खरिद गरेको १० लाख र कोभ्याक्स कार्यक्रममार्फत आएको तीन लाख ४८ हजार गरी जम्मा २३ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप भित्रिएको छ ।