नेपाली सेना डेढ वर्षमा सलीसल्ला भीर छिचोल्न सफल

८ चैत्र २०७७, आईतवार १२:१३

हुम्ला । कर्णाली करिडोर अन्तरगत हुम्ला खण्डको असजिलो क्षेत्र सलीसल्ला भीर नेपाली सेना छिचोल्न सफल भएको छ । अप्ठ्यारो र चट्टानी क्षेत्र रहेको उक्त भीर नेपाली सेनाले डेढ वर्षको अवधिमा छिचोल्न सफल भएको हो ।

निक्कै असजिलो र चट्टानै चट्टान भएको क्षेत्र सलीसल्लाको भीर फुटाएर सडक निर्माण गर्न नेपाली सेना सफल भएको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णजंग शाहीले बताउनुभयो । उक्त भीर छिचोलिएसंगै अब सर्केगार्ड गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालसंग जोडिने क्रममा रहेको उहाँले बताउनुभयो ।

नेपाली सेनाले कालिकोटको खुलालु देखि लैफु कवाडी हुँदै सलीसल्ला खण्डको १२३ किलो मिटर क्षेत्र मध्य सबै भन्दा असजिलो र चट्टानी भागलाई नेपाली सेनाको बिकास निर्माण दल छिचोल्न सफल भएको उक्त खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले बताउनुभयो । चट्टानको लेवल मिलाउने, गाह्रो लगाउने, ग्याबिन भर्ने काम समेत सुरु भएको उहाँले बताउनुभयो । जुन क्षेत्रमा सेनाले मापदण्ड पुरा गर्ने कार्य हाल गरि रहेको उहाँले बताउनुभयो ।

सेनाले निक्कै कष्ट र मिहेनेतका साथ रात दिन नभनी जनशक्ति, मेशिन र बिष्फोट गर्ने कार्य लगातार गरेर भीर छिचोल्न सफल भएको उहाँले बताउनुभयो । भीर छिचोलिएपछि सेनाले मेशिन पनि भीर पार गरेर सलीसल्लामा काम गर्ने क्षेत्रमा ल्याएको छ । छ सय मिटर लम्वाई भएको उक्त भीरमा बिष्फोटका लागि कामदारले शरिरमा डोरी बाँधेर भीमा काम गरेको उहाँले बताउनुभयो । बीस मिटर अग्लोबाट चट्टानलाई बिष्फोट गरेर सडक निर्माण गरिएको छ । उहाँले अब असजिलो भीरमा ट्रयाक खोल्ने कार्य पुरा भएकोले सेना आफ्नो जिम्माको काम सम्पन्न गर्ने कार्यको नजिक पगेको बताउनुभयो । सेनाले सलीसल्ला भीरमा काम गर्न निक्कै कठिन रहेको बताउदै आएको थियो । माथि भीर र तल कर्णाली नदीमा काम गर्ने जोखिम कामदारलाई थियो । तर सहजै रुपमा काम सम्पन्न गर्न सेना सफल भएको उहाँले बताउनुभयो ।

अबको केही समयपछि सेनाले गाडी गुडाउने समेत जनाएको छ । कर्णाली करिडोर अन्र्तगत कालिकोटको खुलालु देखि हुम्लामा सलीसल्ला क्षेत्रसम्मको कुन सडक मध्य कालिकोटमा ४०, बाजुरामा ४४ र हुम्ला जिल्लाको २७ किलो मिटरमा सडक निर्माण कार्य पुरा भएर यातायात सञ्चालन हुँदै आएका छन् । हुम्ला खण्डको बालुकुनाबोट सलीसल्लासम्मको १२ किलो मिटरमा सेनाले अन्तिम चरणको निर्माण कार्य गरि रहेको छ । सो क्षेत्रमा चैत्र महिना भित्र ट्रयाक खोल्ने कार्य पुरा गर्ने र असारसम्म गाडी गुडाउन योग्य बनाईले सेनाले जनाएको छ । यसअघि सेना सडक निर्माण कार्य पुरा गरेपछि दक्षिणी हुम्लाका दुई वटा ताँजाकोट र अदानचुली गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका थिए ।