ओलीले कुरा छोट्याउनुस् भनेपछि वामदेवले भने– ल धन्यवाद छ, त्यसो भए म बोल्दिन

७ चैत्र २०७७, शनिबार १५:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता वामदेव गौतम बालुवाटारबाट असन्तुष्टी जनाउँदै फर्किएका छन । उनले आफ्ना कुरा राखिरहेका बेला प्रधानमन्त्री ओलीले ‘कमरेड अब छोट्याउने हो की’ भने पछि उनी ‘ल धन्यवाद छ त्यसो भए म बोल्दिन’ भन्दै बैठकबाट बाहिरिएका थिए ।

बैठक सकिने बेलामा प्रधानमन्त्री ओलीले वामदेव कमरेड बोल्ने हो भनेर सोधे ।

वामदेव आफ्ना कुरा राखिरहेका थिए । उनले बोल्दै गर्दा मेरा असहमति छन् भन्दै गर्दा ओलीले कुरा छोट्याउने हो कि भने । त्यसपछि वामदेव ‘ल धन्यवाद छ त्यसो भए, म बोल्दिन भन्दै उठेर हिँडे ।

गौतमले आफूलाई संसद विघटन गर्ने तयारीबारे जानकारी भएको भए संसद विघटन गर्नै नदिने, विभिन्न विकल्पहरु दिने, पार्टीलाई मिलाएर लैजाने बताउँदै ओलीका कदमप्रति असहमति रहेको बताइरहेका थिए ।

बैठकमा सहभागी एक नेताले – भने, “रिसाउनु भएको जस्तै लागेको थियो । अरु कार्यक्रममा बोल्दा मुसुमुसु आस्नु हुन्थ्यो । र, हसाउने गर्नुहुन्थ्यो । तर, आज खुलेको देखिएन ।”

उनी आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने बताइएको छ । उनी आफूलाई सञ्चो नभएको भन्दै बैठकमा सहभागी नहुने भन्दै बालुवाटारबाट निस्किएका छन् ।

“आज केन्द्रीय कमिटी बैठक भएको भएर म आएको होइन । केन्द्रीय कमिटी बैठकको समयमा मैले डक्टरको टाइम लिएको छु । डक्टरकोमा जानुपर्याे । स्वास्थ्यभन्दा बैठक ठूलो होइन । म केन्द्रीय कमिटी बैठकमा बस्न नपाउने भए क्षमा चाहन्छु,” उनले भने ।

संसद विघटन पछि तत्कालीन नेकपाको दुबै गुटका नरही तटस्थ बसेका गौतम ओलीले आज बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका थिए ।