
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।माधवकुमार नेपाल समूहको नाम नलिई उनले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराए ।
“जंगलको राज चलाउने, विधि पद्धतिका कुरा गर्ने ? नियम कानुन, संविधान केहीको मतलव छैन । अहंकार, स्वेच्छाचारी,” ओलीले भने, “७५ जेठ ३ अघिको अवस्थामा फर्कियो भनेपछि पनि छुट्टै भेला गर्दैछन् । निहुँ खोज्दैछन् । राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने रे ! अर्को पार्टी र कमिटी बनाउनका लागि हो ? यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो ।”
