नेपाल समूहका स्थायी कमिटी सदस्यहरु निर्वाचन आयोग पुगे

१ चैत्र २०७७, आईतवार १७:३७


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय कार्यान्वयन नगराउन माग गर्दै नेपाल समूहका स्थायी कमिटी सदस्यहरु निर्वाचन आयोग पुगेकf छन्। ११ जना स्थायी कमिटी सदस्यहरुको हस्ताक्षरसहित उनीहरु आयोग पुगेका हुन् ।

“वैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसला एवम् त्यस आयोगको सूचना विपरीत गरिने कुनै पनि काम कारवाही नेकपा एमालेको वैधानिक व्यवस्था, संगठनात्मक प्रणाली र एकतामाथि आघात र अवैधानिक ठहर्छ,” आयोगलाई लेखेको पत्रमा भनिएको छ, “हामी निदवेकसमेत पार्टीका नेताहरु हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकतावद्ध र एकीकृत बनाइ राख्न दृढ संकल्पित भएकोले उपर्युक्त वैधानिक व्यवस्था विपरीतको निर्णयलाई आयोगमा विवरण सच्याउन माग भई आएमा त्यस्तो अनधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गर्दै अनधिकृत, अवैधानिक र संविधान तथा सर्वोच्च अदालतको फैसला विपरीतका कुनै पनि व्यक्ति विशेष वा गुट विशेषका निर्णयलाई वैधता नदिन हुनका लागि यो निवेदन पेस गरेका छौँ ।”