माओवादी बैठकको फेरिएको दृष्य : मञ्चमा केही नयाँ अनुहारसहित ६ नेता

१ चैत्र २०७७, आईतवार १३:०६

काठमाडौ। सर्वोच्च अदालतले पार्टी ब्युँताइदिएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलोपटक आइतवार शुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिबारे छलफल हुने केन्द्रीय सदस्य रामकुमार शर्माले जानकारी दिए ।

झण्डै ३ वर्षपछि बसेको माओवादी केन्द्रको बैठकको दृष्य फेरिएको छ । मञ्चमा केही नयाँ अनुहारसहित ६ नेता बसेका छन् ।

बैठकको अध्यक्षता गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित मञ्चमा ६ नेता छन् ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा प्रभावशाली नेताहरू कृष्णबहादुर महरा र देव गुरुङ मञ्चमा देखिएका छन् ।

यस्तै जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष नन्दकुमार प्रसाईं र निर्वाचन विभाग प्रमुख विष्णुपुकार श्रेष्ठ पनि मञ्चमा छन् ।

एमालेसँग एकता हुनुअघि रामबहादुर थापा बादल महासचिव थिए ।

गृहमन्त्री समेत रहेका बादल प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेकपा एमालेमा बसेका छन् ।

उनले एमाले बाग्मती प्रदेश कमिटी इञ्चार्जको जिम्मा पाएका छन् ।

माओवादीले सरकारमा सहभागी बादल सहितका मन्त्रीहरूलाई २४ घण्टाभित्र सरकार छाड्न र नेकपाको केन्द्रीय सदस्य नियुक्त भएका २३ जनालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन शनिवार निर्देशन दिएको थियो ।

मन्त्रीहरूले अहिलेसम्म कुनै स्पष्टीकरण नबुझाएको माओवादी स्रोतले बतायो ।

आइतवारको केन्द्रीय कमिटी बैठकका लागि माओवादीले ६ वटा एजेण्डा तय गरेको छ ।

शहीदहरूप्रति श्रद्धाञ्जलि, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरूमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विविध एजेन्डा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।