विभिन्न हातहतियार र बँदेलको दाँत घरमा ‍राख्ने एक पक्राउ

२९ फाल्गुन २०७७, शनिबार १८:२५

बाँके। घरमा विभिन्न हातहतियार लुकाई राखेको भेटिएपछि राप्ती सोनारी गाउँपालिका-५ जबरपुरका ६८ वर्षीय ऋषिराम थारु पक्राउ परेका छन् ।

दुईनाले १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२ बोरको खोका ३८ वटा, काटेको गोली १२ वटा, बारुद १ केजी, फलामको नाल २ थान, चित्तलको सिङ ४ वटा र बँदेलको दाँत १ वटासहित उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले ऋषिरामको घर तलासी गर्दा उक्त हातहतियार फेला परेको जनाएको छ ।

साथै थप अनुसन्धानको क्रममा सोही कार्यालयबाट खटिएको प्रहरीले ऋषिरामका भाइ लालबहादुर थारुको घर तलासी गर्दा १ थान कटुवा पेस्तोल, थ्रीनटथ्री राईफलको गोली २ थान, एसएलआर राईफलको गोली १ थान र भरुवा बन्दुकको खाली नाल १ थान फेला पारी बरामद गरेको छ ।

हाल फरार लालबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।