प्रदेश २ मा कोरोनाविरुद्धको खोपको दोस्रो चरणमा डेढ लाखभन्दा बढी वृद्धवृद्धाले खोप लगाए

२८ फाल्गुन २०७७, शुक्रबार २०:०६

जनकपुरधाम। प्रदेश २ मा कोरोनाविरुद्धको खोपको दोस्रो चरणमा डेढ लाखभन्दा बढी वृद्धवृद्धाले खोप लगाएका छन्।

फागुन २३ गतेदेखि सुरु भएको दोस्रो चरणको अभियानमा ४५.३ प्रतिशत अर्थात १ लाख ६८ हजार ५ सय ६८ जनाले खोप लिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए।

दोस्रो चरणमा प्रदेशका ८ जिल्लामा कोरोनाविरुद्धको भ्याक्सिन दिने अभियान सञ्चालनमा रहेको छ।

दोस्रो चरणमा सबैभन्दा बढी बारामा २८ हजार ६ जना ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्।

त्यस्तै, सर्लाहीमा २७ हजार ८२५, महोत्तरीमा २४ हजार ५५५, धनुषामा २० हजार ६१३, सिरहामा १८ हजार ६०३, रौतहटमा १४ हजार ९५९, सप्तरीमा १३ हजार ८४८ र पर्सामा १० हजार १५९ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत सरोज यादवले जानकारी दिए।

यसअघि पहिलो चरणमा यस प्रदेशमा ३४ हजार ८०४ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए।