संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध विरोधको सूचना पेस

२५ फाल्गुन २०७७, मंगलवार १८:१८

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध संघीय संसद् सचिवालयमा प्रतिपक्षी दलका सांसदहरूले विरोधको सूचना दर्ता गराएका छन् । विरोधकाबीच आइतबार प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री लीला श्रेष्ठले अध्यादेश टेबल गरेका थिए ।

सोविरुद्ध मंगलबार विरोधको सूचना दर्ता भएको संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सचेतक पुष्पा भुसाल, अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका तर्फबाट लक्ष्णलाल कर्ण र मोहम्मद इस्तियाक राईले विरोधको सूचना दर्ता गराएका हुन् । त्यस्तै, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका तर्फबाट सन्त थारू, दुर्गाकुमारी विक, यसोदा सुवेदी र टेकबहादुर बस्नेतले विरोधको सूचना दर्ता गराएका छन् ।

आइतबार कांग्रेस र जसपाले सो अध्यादेश असंवैधानिक रुपमा ल्याइएको भन्दै सरकारले फिर्ता लिनुपर्ने माग गर्दै बेल घेराउ गरेका थिए ।

प्रतिपक्षी दलका नेता, सभामुख, उपसभामुखविनै संवैधानिक परिषद्ले संवैधानिक आयोगका पदाधिकारी र सदस्य नियुक्त गर्न मिल्ने गरी अध्यादेश ल्याइएको थियो । सो अध्यादेश असंवैधानिक भन्दै सो आधारमा गरिएका नियुक्ति बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।