
काठमाडौं । नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोटमा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न ९ कम्पनीले आशयपत्र बुझाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो ।
प्राधिकरणले गत मंसिरमा पुरानो प्रस्ताव रद्द गरेर स्याटेलाइट स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा तथा नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणले गरेको मागअनुसार आशयपत्र बुझाएका कम्पनीमध्येबाट पाँच कम्पनीलाई छनोट गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । छनोटमा परेका कम्पनीमा फ्रान्सको युरो कन्सल्ट, दुबईको एस थ्री टेल इंक, अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेशनल, बेलायतको इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी असु¥यानसीटी एण्ड कन्सल्टिङ सर्भिस रहेको उनले बताए ।
प्रवक्ता अर्यालका अनुसार छनोटमा पर्ने कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्तावको माग गरिनेछ । उनीहरुबाट आएको प्रस्तावको अध्ययन गरी प्राधिकरणले स्याटेलाइट स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा दिनेछ । सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउने भन्दै गत असारमा स्याटेलाइट सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।
