
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा राजीनामाको अवसर दिइने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड-माधव नेपाल समूहको समझदारीअनुसार आइतबारको संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लगिने छैन । आइतबारको बैठकमा प्रधानमन्त्रीको मनोविज्ञान हेरेपछि राजीनामा नदिने संकेत पाए मात्र अविश्वास प्रस्ताव लैजाने उनीहरुको तयारी छ ।
“अहिलेलाई अविश्वास प्रस्ताव नलौने र संसद्मा प्रधानमन्त्रीको शैली हेरेर मात्र निर्णय गर्ने भन्ने छ,” नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले भने, “प्रधानमन्त्री राजीनामाको मुडमा हुनुहुँदो रहेनछ भने अर्को दिन अविश्वास प्रस्ताव लगेर त्यही प्रस्तावमार्फत नयाँ प्रधानमन्त्रीको खोजी गरिनेछ ।”
यसका लागि नेकपाको प्रचण्ड-माधव समूहले प्रधानमन्त्रीको नाम मात्र खाली राखेर अविश्वास प्रस्ताव तयार पारेर हस्ताक्षर संकलन गरिसकेको छ । कांग्रेसले पनि आवश्यक सबै तयारी गरेको छ । तर, प्रधानमन्त्रीलाई ‘इगो’ नहुनेगरी राजीनामा आए स्वभाविक विकल्पमा जाने तयारी दुई दलको छ ।
