प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ

२३ फाल्गुन २०७७, आईतवार ११:४३

भरतपुर । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर, बुलिङटार गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भरत लुंगेली रहेका छन् । जाँचका क्रममा भरतपुर महानगरपालिका–३, पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई ना३ख २३२२ नम्बरको ट्रकका चालक लुंगेलीले घुस दिन खोजेका थिए ।

चितवन राइसमिल समितिको चलानीपत्रभित्र १०० रुपैयाँ घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । चालकले साथमा सवारी चालक अनुमतिपत्र नरहेकाले ‘मिलाइदिनुपर्‍यो’ भन्दै घुस दिएका थिए । थप अनुसन्धान भइरहेको र आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।