अस्ट्रेलिया पठाउन लागेको कोरोना खोप इटालीले रोक्यो

२१ फाल्गुन २०७७, शुक्रबार १६:५०

 

अस्ट्रेलिया पठाउन लागेको अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप इटालीले रोकेको छ । बिहीबार इटालीको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी गराएको हो। इटालीमा उत्पादित २ लाख ५० हजार डोज खोप अस्ट्रेलिया पठाउन जहाजमा राखिसकिएको थियो । लोड भइसकेको खोप इटाली सरकारले रोकेको हो ।खोप उत्पादक कम्पनी एस्ट्राजेनेकाले इयूसँग गरेको सम्झौता बमोजिम खोप उपलब्ध गराउन नसकेको भन्दै इटालीले खोप निर्यातमा रोक लगाएको हो ।

गत अगस्टमा एस्ट्राजेनेका र इयूले ३० करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरेका थिए । मार्चको अन्तिमसम्ममा १० करोड डोज उपलब्ध गराउने बिकल्पसहित सो सम्झौता भएको थियो । वर्षको सुरुवातमै बेलायत, स्वीडेन लगायतमा उत्पादन गरिरहेका कम्पनीले उत्पादनमा ढिलाइ हुने बताएका थिए । तर मार्च महिनासम्ममा ४ करोड डोज मात्र खोप उपलब्ध हुने भएको हो ।

इयूले कम्पनीले सम्झौताको बेवास्ता गरेको आरोप लगाउँदै आएको थियो । कम्पनीले सम्झौताअनुसार खोप उपलब्ध नगराए निर्यातमा रोक लगाउने उसले चेतावनी दिँदै आएको थियो । अस्ट्रेलियाले भने इटालीको सो कदमले कोरोनाविरुद्धको अभियानलाई असर नपार्ने जनाएको छ । यसअघि नै ३ लाख डोज खोप प्राप्त भइसकेको र केही दिनमै आम नागरिकलाई प्रदान गरिने बताएको छ । त्यस्तै आउँदो साताबाटै स्थानीय उत्पादन पनि थालिने बताएको छ ।