काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्र चन्द “विप्लव” नवलपरासीमा सार्वजनिक भएका छन् । धेरैको काठमाडौंबाट खुला सार्वजनिक कार्यक्रममार्फत सार्वजनिक हुने अडकल भएतापनी उनी शहिद परिवारसँगको भेटघाटबाट शुक्रबार नवलपरासीबाट सार्वजनिक भएका हुन् ।
बुधबार र बिहिबारको वार्ताबाट तीन बुँदे सहमति गरेर खुला कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि उनी शहिद परिवारसँगको भेटघाटबाटै तस्बिर सार्वजनिक गरेका हुन् ।
अहिले चितवन हुँदै गाडीमा काठमाडौं आइरहेका छन् । उनलाई पार्टीका युवा पंक्ति र प्रहरीको सुरक्षामा काठमाडौं आइरहेका हुन् । सरकारले उनलाई काठमाडौं आइपुग्ने व्यवस्था गरेको हेलिकोप्टर चढ्ने सुविधा प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । धेरै उनी सार्वजनिक सवारी चढेर कार्यक्रममा सहभागी हुने आउने अडकलबाजी गरिरहेका छन् ।उनले शहिद परिवारबाट टीका लगाएका छन् । शहिदको सपना र क्रान्तिको उद्देश्यलाई धोका नदिने प्रतिवद्धता भेटमा व्यक्त गरेका छन् । उनी कालै पाइन्ट र कालै ज्याकेटमा अनि क्यापमा देखिएका छन् ।
यसअघि दस वर्षे जनयुद्ध गरेर २०६३ मा शान्ति वार्तामा आउने बेला जनयुद्धका नेतृत्व प्रचण्ड र नेता बाबुराम भटट्राई तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले हेलिकोप्टरबाट प्रधानमन्त्रीनिवास बालुवाटारमा ल्याइपुर्याएका थिए । अहिले दुवै जनामाथि जनताको सपनामाथि घात गरेको आरोप खेपिरहेका छन् ।
तर योपटक विप्लवले भने हेलिकोप्टर चढन गरेको सरकारको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । कार्यक्रम हुने स्थान काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहको वरपर टाढासम्मको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रतिबन्धदेखि नै गिरफ्तार गर्न खोजेपछि सरकार असफल हुँदै आएको छ । सरकारले २०७५ चैत २८ गते नेकपामाथि प्रतिबन्धको घोषणा गरेदेखि पार्टीको नेतृत्व महासचिव विप्लव सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । उनको तस्बिर पनि पार्टी मुखपत्र पत्रिकाबाहेक सार्वजनिक भएको थिएन ।
