ल्होसारका कारण बन्द रसुवागढी नाका आजबाट सञ्चालनमा

२१ फाल्गुन २०७७, शुक्रबार ११:२६

 

काठमाडौं । माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीले बताए । नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको भन्सार प्रमुख रेग्मीले जानकारी दिए । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।

भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए ।

यो वर्ष कोभिड तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा धेरै पटक अवरोध देखिएको छ । नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने दुईवटै नाका (रसुवागढी र तातोपानी) बाट अहिले पनि कोटा प्रणालीमा माल वस्तु आयात मात्रै हुने गरेको छ । चिनियाँकै कारण दुवै नाका भएर हुने निर्यात ठप्प छ ।