इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा एक जनाको मृत्यु

९ फाल्गुन २०७७, आईतवार २१:१२

दाङ । थुनुवा कक्षमा रहेका एकजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहानै पक्राउ परेका ४३ वर्षीय नन्दलाल वलीको आइतबार बिहान मृत्यु भएको हो ।

रोल्पा स्थायी घर भई दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा भाडामा बस्दै आएका वलीलाई श्रीमतीकै आग्रहमा शनिबार राति मात्रै प्रहरीले पक्राउ गरेको थियो । डीएसपी शिबबहादुर सिंहका अनुसार वलीकी पत्नी उच्च अदालतमा उपस्थित भएर श्रीमानले आफूलाई मदिरा सेवन गरी मार्न थालेको हुँदा सुरक्षाको माग गरेकी थिइन् ।

शनिबार राति १० बजेतिर मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मापसे जाँचपछि उनलाई थुनुवा कक्षमा राखिएको थियो ।