
काठमाडौँ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीको भविष्य अझै अन्योलमै रहेको छ । उनी नोउ क्याम्पमै रहने वा अन्य क्लबमा जानेबारे पनि प्रष्ट भैसकेको छैन ।
एजेन्सीका अनुसार म्यानचेस्टर सिटीले मेस्सीलाई अनुबन्ध गर्नका लागि अर्को कदम चालेको छ । २०२० मा पनि मेस्सीलाई अनुबन्ध गर्नका लागि इच्छुक रहेको सिटीले मेस्सीलाई ५ वर्षका लागि अनुबन्ध गर्न ६०० मिलियन पाउण्ड बराबरको प्रस्ताव राख्न लागेको हो ।
बार्सिलोना र कप्तान मेस्सीका बिचमा केही समयअघि असमझदारी देखिएको थियो तर सम्पुर्ण समस्याहरु अध्यक्षको निर्वाचनपछि अन्त्य हुने बार्सिलोनाले विश्वास लिदैँ आएको छ ।
केही खेलमा सन्तोषजनक नतिजा निकालेको बार्सिलोना महत्वपुर्ण खेलमा भने पराजित हुने गरेको छ । जसका कारण प्रशिक्षक तथा बार्सिलोनाको व्यवस्थापनप्रति समर्थकहरुले रिस पोख्दै आएका छन् ।
