
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार जनमतको भावना विपरित नजाने बताएका छन् ।
आज ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतेृत्वको सरकारले संविधान नमिच्ने र मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
लोकतन्त्रमाथि खतरा पुग्ने काम कहीँ कतैबाट हुन नहुने बताएका प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको जिकिर गरे ।
ताजा जनादेश उ्रच्चतम लोकतान्त्रिक विधि भएको बताएका प्रधानमन्त्री ओलीले त्यसका लागि जुट्न पनि आग्रह गरे ।
‘यतिबेला विगतका हाम्रा बलिदान र कठिन दिनलाई सम्झेर आज विकासबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने दिन आएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सानातिना मतभेदलाई छाडेर बृहत्तर हितलाई ध्यान दिएर अगाडि बढ्न म सबैमा आग्रह गर्दछुँ ।’
