
काठमाडाैं। भारत र चीनबीच सन् २०२० को अगस्ट महिनाको अन्त्यतिर लद्दाखको कैलाश रेन्जमा युद्ध हुनै लागेको भारतको उत्तरी कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाई के जोशीले बुधवार बताएका छन् ।
जुन १५ मा गलवान उपत्यकामा भएको भिडन्तमा ४५ जना चिनियाँ सैनिक मारिएको हुन सक्ने उनको भनाइ छ ।
भारतले उक्त भिडन्तमा २० जना सैनिक गुमाएको थियो भने चीनले हताहत सैनिकको संख्या अहिलेसम्म खुलाएको छैन ।
भारतले चीनलाई आफ्नो भूमि नसुम्पेको अनि चीनले बेइज्जती बाहेक केही पनि नखेपेको उनले बताए ।
कैलाश रेन्जका उचाइहरूमा कब्जा गरेर भारतीय सैनिकहरूले चिनियाँ जनमुक्ति सेनालाई आश्चर्यमा पारेको र ट्यांक समेत लगेको जसबाट पूर्ण युद्ध हुने स्थिति आएको उनको भनाइ छ ।
चिनियाँ सेनाले पनि उचाइमा आफ्ना ट्यांकहरू लगेको र भारतीय सैनिकहरू उचाइमा ट्यांक र रकेट लोन्चर सहित बसेको उनले बताए । चिनियाँ सेनालाई आफ्नो टेलिस्कोपमा देख्दा ट्रिगर दबाउन सजिलो भए पनि अधिकतम संयम कायम गरेको उनको भनाइ छ ।
