यातायात व्यवसायीले भाडा आफैं बढाउने चेतावनी दिए

३० माघ २०७७, शुक्रबार १६:०९

काठमाडौं । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडीको भाडा आफैं बढाउने चेतावनी दिएका छन्। सरकारलाई बुझाउनु पर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन नसक्ने अवस्थामा बारम्बार इन्धनको मूल्य बढाउनु उचित नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए। २०६५ साल फागुनदेखि लागू हुनेगरी प्रत्येक आर्थिक वर्षमा अनिवार्य रूपमा स्वत: भाडा समायोजन गर्ने व्यवस्था भए पनि हालसम्म यो लागू नभएको सिटौलाको तर्क छ।

फागुन ८ गतेसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए महासघंको कार्यसम्पादन सचिवालयको बैठक बसेर आवश्यक निणर्य गरिने महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले बताए दिए। ‘हाम्रो माग सम्बोधन नभए आफैं भाडा बढाउँछौं, नभए आन्दोलनमा उत्रन्छौं,’ उनले भने।

नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजनको गरेको हो।