ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

२४ माघ २०७७, शनिबार ११:४४

 

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको दुर्घटनामा मृत्यु भएको छ।

दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको हो।

उनीहरु दुबै जनाको शुक्रबार राति उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। थापाले मोटरसाइकल चलाएका थिए भने खड्का पछाडि सवार थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झकल शर्माका अनुसार दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार दंगिशरण-३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल घाइते भएका छन्। उनको पनि कोहलपुरमा उपचार भइरहेको छ।

प्रहरी निरीक्षक शर्माका अनुसार शुक्रबार बेलुका सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा१त ३४४१ नम्बरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा६प १४३४ नम्बरको मोटरसाइकललाई दंगिशरण- ५ लौबस्ता भन्ने ठाउँमा ठक्कर दिएको थियो।