
काठमाण्डाै । प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ। सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ । तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ४७ अर्ब ८७ करोड १७ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भई नेपाल भित्रिएको छ। यसमध्ये २३ अर्ब मूल्य बराबरको डिजेल आयात भएको हो।
चालू आर्थिक वर्षको ६ महिनामा पाँच लाख चार हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको ६ महिनामा चार लाख ९१ हजार लिटर इन्धन नेपाल भित्रिएको छ। भन्सार कार्यालयले चालू आवको ६ महिनामा डिजेलबाट करीब २३ प्रतिशत राजश्व उठाएको छ।
भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट भन्सार कार्यालयले १६ अर्ब ६२ करोड डिजेलबाटै राजश्व उठाएको छ। सो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ। पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले घटेको वीरगञ्ज भन्सारले जनाएको छ।
भन्सार नाकाबाट अघिल्लो वर्षको पुस मसान्तसम्ममा ९० हजार २०४ लिटर हवाई इन्धन आयात भएकामा चालू आर्थिक वर्षको सोही अवधिमा २६ हजार ११२ लिटर हवाइ इन्धन भित्रिएको हो। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ प्रतिशतले कोइलाको आयात बढेको छ।
