म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि सङ्कटकाल घोषणा

१९ माघ २०७७, सोमबार ११:०२

 

 

 

काठमाण्डाै । नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो । सेनाको टेलिभिजनले एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको जनाएको बीबीसीले जनाएको छ । सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो ।

गएको नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी एनएलडीले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो । तर, सेनाले यो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ । नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने तयारी भएका बेला सेनाले नेत्री आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिएको हो । सेनाले यो बैठक स्थगित गर्न माग गर्दै आएको थियो ।

सेनाले आफूले सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको पुष्टि पनि गरेको छ । सैन्य ‘कू’पछि राजधानीलगायतका मुख्य सहरमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ भने राजधानीसहित धेरै ठाउँमा सेनाको उपस्थिति बाक्लो छ ।