काठमाण्डाै । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्त्वपूर्ण हुने बताउनुभएको छ । नबिल बैंक लिमिटेडले काठमाण्डाैकाे कुलेश्वरमा रहेकाे थोक फलफूल बिक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताउनुभयो । पैसाको माध्यमबाट कोभिड–१९ सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले पनि अहिलेको अवस्थामा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्नु सान्दर्भिक रहेको उहाँले बताउनुभयो ।

गभर्नर अधिकारीले आफू पैसामा हस्ताक्षर गर्ने व्यक्ति भए पनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लागेको बताउनुभयो । नगदको प्रयोग कम हुँदा देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने उहाँको भनाइ छ । यस्तै नगदको प्रयोग सकेसम्म कम गरेर दैनिक कारोबार गरि आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सकिने पनि गभर्नर अधिकारीले बताउनुभयो ।
कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिलकेशरी शाहले कोभिडको समयमा मात्रै नभइ सधैँका लागि नगदरहित समाज निर्माण गर्नुपर्ने बताउनुभयो । प्रत्येक फलफूल पसलमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने अभियान सञ्चालन गरेमा नगदरहित समाज निर्माण गर्न सकिने पनि उहाँको भनाइ छ ।

साइकलमा फलफूल बिक्री गर्दै हिँड्ने महमद सुल्तान मियाँले क्यूआर कोडबाट भुक्तानी हुने व्यवस्था भएपछि सहज भएको बताउनुभयो । साइकलमा फलफूल राखेर गोजिभरि खुद्रा पैसा बोकेर हिँडनु नपर्ने र पैसा हराउने तथा चोरी हुने डर पनि नहुने उहाँले बताउनुभयो ।

