आज ओली पक्षको बैठकः प्रचण्डलाई कारबाही गर्ने तयारी

७ पुष २०७७, मंगलवार ०८:३९


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा औपचारिक रुपमा विभाजनको अन्तिम चरणमा पुगेको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरेपछि ओली पक्षले पनि प्रचण्डलाई कारबाहीको तयारी गरेको छ ।

आज बिहान ९ बजे बालुवाटारमा बस्ने ओली पक्षीय केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अनुशासनहीन काम गरेको,आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री विरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको,पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको ओली निकट स्रोतले जनाएको छ ।

बैठकले अन्य केही नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने सम्भावना रहेको जनाईएको छ । पार्टी एकता टुंगिन नपाउँदै प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने तयारी ओली पक्षको छ ।

यता प्रचण्ड–माधव नेपाल पक्षले आजै दिउँसो पार्टी प्यालेसमा बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाउने र माधव नेपाललाई पूर्व एमाले पक्षबाट अध्यक्ष बनाउने तयारी गरेको छ । यससँगै नेकपा फुटको अपचारिक शुरुवात हुनेछ । दुई पक्षबीच त्यसपछि नेकपाको वैधानिकताका लागि संघर्ष हुनेछ ।