चिसो मौसमः आफ्नो सुरक्षा आफै गरौं

२८ मंसिर २०७७, आईतवार ०७:०५

डा डिआर उपाध्याय,

विगत नौ महिना देखि नेपालमा फैलिएको कोरोना संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । यसले आम नागरिकलाई आक्रान्त बनाई रहेको छ । नेपालमा जाडो मौसम सुरु भैसकेको छ । यो समयमा चिसोका कारण रुघा, खोकी, निमोनिया जस्ता रोगहरुको प्रकोप बढ्ने गर्दछ । यस्तो मौसममा विशेष गरी बालबच्चा र वृद्धवृद्धा हरुलाई रोगले छिटो आक्रमण गर्ने हुँदा विशेष सावधानी अपनाउनु पर्र्ने जरुरी देखिन्छ । यस्तो अवस्थामा तपाई हामी सावधानी पूर्वक कोरोना संक्रमण हुनबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ यो नै मानवीय धर्म र कर्तब्य हो । सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणको अवस्थामा नपुग्दै बढी भीडभाड हुने क्षेत्र खुला गर्न थालेको छ ।यस्तो अवस्थामा आफ्नो सुरक्षा आफै गरौँ यो भन्दा अर्को कुनै विकल्प छैन । नेपालमा दोस्रो चरणको संक्रमण बढ्नसक्ने चेतावनी विज्ञले दिएका छन् ।यस्तो जोखिम पूर्ण अवस्थामा पनि सरकारले बिनातयारी भीडभाड हुने क्षेत्र खुला गर्न थालेको छ । यद्यपि नेपालमा कोरोना संक्रमण दर बढे पनि यसका कारण हताहत हुनेको संख्या जति आँकलन गरिएको थियो, त्यसअनुसार देखिन्न । यो सकारात्मक पक्ष हो । तर, यसले कुनै पनि बेला जोखिम बढ्ने त्रास भने हटिसकेको छैन ।
ललितपुर स्थित जाउलाखेलको भिडभाड हुने चिडियाघर गत बिहीबारदेखि खुला गरिएको छ । पछिल्लो समयमा आएर अधिकांश स्थानीय तहले विद्यालय खुला गरिसकेका छन् । र बाँकी खोल्ने तयारीमा रहेका छन् । सरकारले खुला गर्न अनुमति दिएका क्षेत्रमा प्रभावकारी अनुगमन गर्नुपर्ने देखिन्छ । यसअघि खुलेका सार्वजनिक साधनमा यात्रुहरु मास्कबिना नै क्षमता भन्दा बढी सवार भएका देखिए । पार्टी प्यालेसमा सयौंको जमघटमा भोजभतेर भइरहेका छन् । अधिकाशं मानिसले एउटै माक्स हप्तौँ सम्म प्रयोगमा ल्याएको देखिन्छ, स्वास्थ्यको दृष्टिकोणले हानिकारक देखिन्छ । यता कतिपय विद्यालयले स्वाथ्य मापदण्डबिनै पढाइ धमाधम सञ्चालन गरिरहेका छन् । बजार, सपिङ मलहरु सबै खुलिसकेका छन् । होटल व्यवसाय ,बजार, सपिङ मलहरु सबै खुलिसकेको अवस्था देखिन्छ । अब केही दिनमा खुल्न बाँकी रहेका सिनेमा हल र थिएटर खुला गर्ने तयारी भइरहेको अवस्था छ । अहिले सरकारले कोरोना परीक्षणको दर घटाएको छ त्यस कारण संक्रमितको संख्या घट्दै गएको देखिन्छ । कोरोना संक्रमण बढ्न सक्ने खतराको घण्टी टरिसकेको अवस्था भने छैन । हामी कसैले पनि कोरोनालाई सामान्यरूपमा लिनु घातक हुन सक्छ ।