हिजोको कांग्रेस र आजको काँग्रेसमा किन फरक छ ?

२३ मंसिर २०७७, मंगलवार १६:०३

✍️ डा डीआर उपाध्याय
काठमाडौं, नेपाली राजनीतिमा लामो इतिहास बोकेको पाटी हो नेपाली काँग्रेस । लोकतन्त्रका लागि ठूलो संघर्ष र त्याग गर्नुभएको छ यो पार्टीका नेता कार्यकर्ताले । यो पार्टी कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ की भन्र्ने चिन्ता छ । नेपालको लोकतान्त्रिक आन्दोलनदेखि पटक पटक भएका राजनीतिक परिवर्तनमा नेपाली काँग्रेसको महत्वपूर्ण भूमिका रहँदै आएको छ । इतिहासलाई कसैले भुल्नु हुँदैन ।

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा सबै भन्दा पुरानो राजनीतिक दल नेपाली काँग्रेस हो। यो पार्टीले राणाशासनको अन्त्य र निरंकुश राजतन्त्रको अन्त्य गर्न प्रमुख भूमिका खेल्यो । हरेक आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गदै आएको छ । नेपाल र नेपालीलाई स्वाधीन र सार्वभौम तुल्याउन कान्ग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको कुरा कसैले भुल्नु हुँदैन । अहिले यो पार्टी पनि सत्तारुढ दल जस्तै आन्तरिक द्वन्द्व, कलह, गुट–उपगुटमा बिभाजित छ । विगत इतिहासलाई मात्र भजाएर पार्टी अघि बढन सक्दैन । ०७ सालको क्रान्ति, ०३६ सालको जनमतसङ्ग्रह, ०४२ सालको सत्याग्रह, ०४६ सालको जनआन्दोलन, ०६२,०६३ सालको जनआन्दोलनलगायतको नेतृत्व नेपाली काँग्रेसले गरेको हो ।

हिजोको कांग्रेस र आजको काँग्रेसमा किन फरक छ ? हिजो काँग्रेस सङ्घर्षशील र उर्जाशिल थियो । आज कांग्रेसमा त्यो छैन । प्रमुख प्रतिपक्षीको भूमिका सशक्त रुपमा अघि बढाउन सकेको छैन । सत्तारुढ दलले मनपरी गरिरहेको देखेर पनि किन प्रतिपक्ष दल काँग्रेस मौन छ ? पार्टीमा संघर्षशील, इमानदार कार्यकर्ताको मूल्याङ्कन हुन सकेको छैन । नेताकै चाकडी–चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउने प्रवृत्ति हावी छ । यो सवै पार्टीमा भएको रोग हो । त्यस कारणले गर्दा दलहरू कमजोर छन् । लोकतन्त्रमा दलहरु कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो ।

लोकतन्त्रवादी शक्तिहरु हिजो जसरी एक भएर अघि बढेका थिए आज पनि एक भएर अघि बढनु पर्ने बेला आएको छ । लोकतन्त्र बिरोधी शक्तिहरू यो ब्यवस्था बिरुद्ध नारा जुलुश गदै हिडिरहेका छन । दलहरू किन मौन छन् ? लोकतन्त्र माथि खतरा आउन थाल्यो । अब सवै लोकतन्त्रवादी शक्तिहरु जुटेर हिडनु पर्ने बेला आयो । राजनीतिक दलहरू सत्ता सवार्थको राजनीति छाडेर देश र जनताको पक्षमा सोच्ने बेला आयो ।