ओलीबाट गणतन्त्र सखाप पार्ने खेल भयोः काँग्रेस नेता प्रदीप पौडेल

२० मंसिर २०७७, शनिबार १६:२८

काठमाडौं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै असफल प्रधानमन्त्री भएकाले पदमा बस्ने नैतिक आधार समाप्त भएको टिप्पणी गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उहाँले ओलीमाथि गणतन्त्रसहितको राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने खेल खेलिरहेको आरोप लगाउनु भयो ।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै राजनीतिक दल र राजनीतिक प्रणालीप्रति नै वितृष्णा जगाउने भुमिका खेलेको टिप्पणी पौडेलको थियो । पौडेलले वाइडबडी र प्रिन्टिङ प्रेस खरिद जस्ता अरबौं घोटाला भएका भ्रष्टाचारको खुलासा भइसकेको बताउनु भयो ।

प्रधानमन्त्री ओली विगतमा नै गणतन्त्र विरोधी भएको भन्दै अहिले राजावादीहरुको सक्रियताप्रति आशंका गर्नुपर्ने बेला आएको बताउनु भयो । ओलीले गणतन्त्र र संघीयतालाई सखाप पार्ने खेल खेलेको आरोप लगाउनु भयो ।