कोरोना संक्रमित पूर्व गाविस अध्यक्षको मृत्यु

९ मंसिर २०७७, मंगलवार ११:०८

विराटनगर , कोरोना संक्रमित तत्कालिन पथरी गाविस मोरङका पूर्व अध्यक्ष तिलक बान्तावा राईको मृत्यु भएको छ। ६६ वर्षीय राईको मंगलबार बिहान मृत्यु भएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि दुई सातादेखि उपचाररत राईको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार बिहान करिब ४ः३० बजे राईको मृत्यु भएको हो।

पीसीआर परीक्षण गराउँदा पथरी शनिश्चरे नगरपालिका–१ निवासी राईको कात्तिक २१ गते पोजेटिभ रिपोर्ट आएको थियो। त्यसपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा पाँच दिनदेखि उपचार भइरहेको थियो।