‘फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’

२५ कार्तिक २०७७, मंगलवार १३:५५

ताप्लेजुङ , संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताउनु भएको छ ।

फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले फाल्गुनन्दका उपदेश र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम हुनसक्ने बताउनु भयो ।

विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले जीवनको सबै समय कुरीति र कुसंस्कारमा जकडिएको समाज सुधारमा खर्चिएको भन्दै मन्त्री भट्टराईले विश्व समुदायको सुधारका लागि पुर्‍याएका योगदानको स्मरण गर्नु भएको छ ।