मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

२२ कार्तिक २०७७, शनिबार ११:२८

काठमाडौं , कोरोना भाइरसबाट संक्रमित वरिष्ठ कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउनु भएको छ । अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उहाँको भनाइ छ ।

गजुरेलले फेसबुकमा लेखनु भएको छ ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

गजुरेललाई १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको मात्रा कम देखिएपछि उहाँलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो ।

हाल उहाँको उपचार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा भइरहेको छ । स्वास्थ्य परीक्षणपछि उहाँको फोक्सोमा पानी जमेको पाइएको चिकित्सकहरुले बताएका छन् ।