
प्रधानमन्त्री केपी ओलीले गीतकार तथा गायक प्रेमनाथ अधिकारीको ‘फर्किन् मेरी आमा’ नामक गीति एल्बम विमोचन गर्नु भएको छ । बालुवाटारमा मंगलबार भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर प्रधानमन्त्री ओलीले सांस्कृतिक संस्थानका अध्यक्षसमेत रहेका अधिकारीको गीति एल्बम विमोचन गर्नु भएको हो ।
साहित्यकार डा विजय सुब्बा र प्रा केशव सुवेदीले अधिकारीको सांगीतिक यात्रा र गीति एल्बम ‘फर्किन् मेरी आमा’को समीक्षा गरेका थिए ।
एल्बममा फर्किन् मेरी आमा, गाईलाई चरन, साँगुरी ओरालो, घमाइलो बगान, चरीको रङ र ढङढङ कक्ल्याक कक बोलका ६ वटा गीत समाविष्ट छन् । शीर्ष गीतमा संगीतकार तथा प्राज्ञ अशोक लोहोरुङ राईको संगीत छ ।
अन्य सबै गीतमा गीतकार तथा गायक अधिकारी स्वयंको लय संकलन रहेको छ । गायक अधिकारीलाई शीर्ष गीतमा गायिका दुर्गा परियार र गाईलाई चरन बोलको गीतमा बिना भट्टराईले स्वरमा साथ दिएका छन् ।
