
काठमाडौं , नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभाका सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्माको स्वास्थ्य झन जटिल भएपछि भेण्टिलेटरमा राखिएको छ ।
कोरोना संक्रमणसँगै फोक्सोमा निमोनिया देखिएपछि ग्राण्डी अस्पतालको आइसीयूमा उपचार गराई रहेका विश्वकर्मालाई हिँजो शनिबार अपरान्हदेखि नै भेण्टिलेटरमा राखेर उपचार शुरु भएको बताइएको छ ।
कात्तिक ११ गतेदेखि ग्राण्डि अस्पतालमा उपचार गराइ रहनु भएका विश्वकर्माको शरिरमा अक्सिजनको मात्रा ९५ बाट घटेर ८० पुगेको भन्दै उहाँलाई एयर एम्वुलेन्समार्फत नयाँ दिल्ली लैजान कांग्रेस नेता गोपालमान श्रेष्ठले स्वास्थ्य मन्त्रीलाई आग्रह गर्नु भएको छ ।
पार्टी संगठन विभाग प्रमुखसमेत रहनु भएका नेता श्रेष्ठले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आइतबार टेलीफोन सम्पर्क गरी विश्वकर्माको स्वास्थ्यस्थिति जटिल बनेकाले थप उपचारको लागि नयाँ दिल्ली लैजाने व्यवस्था गर्न माग गरेको बताउनु भयो ।
यसअघि शनिबार मात्र कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकालाई फोन गरी सांसद तथा पूर्वमन्त्री विश्वकर्माको उपचारमा ध्यान दिन आग्रह गर्नु भएको थियो ।
पूर्ववाणिज्यमन्त्री विश्वकर्मा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि आफनै निवासमा आइसोलेसन (एकान्तवास) मा बस्नु भएको थियो । उहाँको स्वास्थ्य खराव हुँदै गएपछि संसद सचिवालयका चिकित्सकको सल्लाहमा निवासमै कात्तिक ८ गते अक्सिजन लिएर बस्नु भएको थियो ।
कात्तिक ९ गते बीर अस्पतालको भीआईपी क्याविनमा भर्ना हुनुभएका विश्वकर्माले भोलीपल्ट साँझ सवा ५ बजे फेसवुक स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएकाले फोन उठाउन नसकेको जानकारी गराउनु भएको थियो । बीर अस्पतालमा राख्दै समेत उहाँको स्वास्थ्यमा सुधार नआएपछि ग्राण्डी अस्पताल लगिएको थियो ।

