प्रधानमन्त्रीले ‘रअ’का प्रमुखसँग भेट गर्नु कूटनीतिक मूल्य र आचारसंहिता विपरीतः नेकपा प्रवक्ता श्रेष्ठ

९ कार्तिक २०७७, आईतवार १०:१२

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख शामन्त गोयलसँग भेटवार्ता गर्नु कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनु भएको छ ।

उहाँले “यस्तो भेट किन ? भन्दै प्रश्न पनि गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै यस्तो प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान,प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने बताउनु भयो ।

अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम पनि हुन सक्ने उल्लेख गर्नु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनु भएका श्रेष्ठले प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना गोयललाई भेट गरेको र पार्टीलाई भेटबारे कुनै पूर्व जानकारी नभएको भन्दै पार्टीमा संस्थागत एवं औपचारिक छलफल नभएको बताउनु भयो ।

उहाँले लेखनु भएको छ, “नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो, त्यो होइन भन्ने स्पष्ट भइसकेको छ।”

विदेशी सरकार प्रमुखले औपचारिकरूपमा आफ्नो विशेष दूतका रूपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्ने उल्लेख गर्नु भएको छ ।

उहाँले नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा प्रधानमन्त्रीसँग विदेशी गुप्तचर निकायको प्रमुखले भेट गर्नु पहिलो घटना भएको बताउनु भयो ।