
रौतहट , चाडपर्वको समयमा यो वर्ष यस जिल्लाको स्थानीय तहका कर्मचारी तथा शिक्षकले तलब नपाएको गुनासो गरेका छन् ।
स्थानीय तहको पहिलो चौमासिकको रकम निकासा गर्न नसक्दा राजदेवी, बौैधीमाई, देवाहीगोनाही, कटहरिया, गुजरा, फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले तलब पाउन नसकेका हुन् ।
चालू आर्थिक वर्ष २०७७ /०७८ को लागि पालिकाहरुले सभा सम्पन्न गरी योजना बाँडफाँड गरेका कार्यहरु सुत्रमा अभिलेखिकरण गरेर प्रमुख कार्यकारी अधिकृतलाई लिखित रुपमा अख्तियारी दिनुपर्ने स्पष्ट प्रावधान छ । उक्त प्रावधानको पालना नगर्दा निकासा दिन नसकिएको कोष तथा लेखा नियन्त्रणको कार्यालय गौरले बताएको छ ।
तर प्रक्रिया पुरा गरेका गौर, चन्द्रपुर, गरुडा, राजपुर, मौलापुर, इशनाथ, गढीमाई, वृन्दावन, माधवनारायण र परोहा नगरपालिकाको निकासा समयमै भएको निमित्त प्रमुख कोष नियन्त्रक इश्वरी प्रसाद ढकालले जानकारी दिए ।
पहिलो चौमासिक रकम निकासा गर्नका लागि शर्त पुरा गरेकाले निकासा भएको उनको भनाइ छ । यमुनामाई गाउँपालिकाले गाउँ सभा सम्पन्न गरिसकेको भए पनि प्रमुख प्रशासकीय अधिकृतको विवाद अदालतमा चलिरहेकाले सोको निराकरण नभएसम्म निकासा गर्न नसकिएको उनले जानकारी दिए ।
निजामती सेवा नियमावलीमा चाँडपर्वको वेला विशेष सुविधासहितको तलव १५ दिनअघि नै दिनुपर्ने प्रावधान छ । दसैंमा पनि तलव नपाउँदा चिन्तित भएका शिक्षकहरुले अहिलेको शासन प्रणालीप्रति खिन्नता व्यक्त गरेका छन् ।(अभियानबाट साभार )
