डा डीआर उपाध्याय,

अहिले सरकारका कमीकमजोरीलाई जनताले खबरदारी गरिरहेका छन् । सरकारका कामकारवाही प्रति आम नागरिकको तीव्र असन्तुष्टि छ । तर, सरकारले त्यस्ता असन्तुष्टिबारे खासै चासो देखाएको छैन । अझै समाजमा गरिबी, अभाव, विभेद कायम छ । जनताले सुरुवाती दिनमा यो सरकारबाट जुन किसिमको आशा गरेका थिए । त्यसअनुसार काम हुन नसक्दा आम नागरिक निराश छन । बर्तमान सरकारले आफूले प्रतिवद्धता जनाए बमोजिम देशलाई विकास र सुशासन दिन सकेन । यो नै आम नागरिकको गुनासो हो । सरकारले जनताको पक्षमा राम्रो काम गरेर देखाउने समय हो यो । तर, सत्तारुढ दल र उसको नेतृत्वमा बनेको सरकार कता कता अल्झिरहेको छ ।
यतिबेला कोरोना भाईरसका कारण धेरै क्षेत्र समस्याग्रस्त छन् । समस्याग्रस्त क्षेत्रहरू माथि उठन धेरै समय लाग्ने देखिन्छ । बर्तमान सरकारले जनतालाई अभिभावकत्व दिन सकेको छैन । आम नागरिकको अभिभावकत्व निर्वाह गर्ने जिम्मेवारी सरकारको हो । आफना समस्या सरकार सामू नराखेर जनताले अरु कोसँग राख्ने ? राज्य पक्षबाट नागरिकलाई सन्तुष्ट पार्ने काम गर्नुपर्छ । यो उसको दायित्व हो ।
सरकार बनेदेखि यता अनेक प्रकरण भए । यती प्रकरण, औषधिमा भ्रष्टाचार, एमसीसी प्रकरणलगायतमा यो सरकार आलोचित छ । राजनीतिक नियुक्तिमा विभिन्न ठाउँमा आफन्तहरू भरिएका छन् । नातावाद कृपावादले जरो गाडेर बसेको छ । यस्तो भए पछि देश कसरी बन्छ ? यो सरकारबाट जनताले विकास र सुशासनको के आशा गर्ने ? सरकार अब सच्चिनु पर्छ ।

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनुपर्ने भन्दै बेला बेलामा सडकमा नारा जुलुस निस्किरहेका छन् । देशलाई लोडसेडिङबाट मुक्त बनाएर प्राधिकरणलाई मुनाफामा लैजान सफल व्यवस्थापक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने युवाको माग जायज छ । कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने भन्दै सामाजिक सञ्जाल मार्फत नागरिकले आफना अभिब्यक्तिहरू ब्यक्त गरेका छन् । तर, सरकारले उनको पुनर्नियुक्तिमा कानुन व्यवधान रहेको प्रतिक्रिया दिएर पन्छिदै छ । जसले राम्रो काम गर्दछ, उसको पछाडि जनता हुन्छन । डाहा, रिस गर्नुपर्ने कुनै जरुरी छैन । नेपाल विद्युत् प्राधिकरणमा कुलमान कै खाँचो छ । किनभने उनले अध्यारो नेपाललाई उज्यालो बनाएर छोडेका छन् ।
सफल व्यवस्थापक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने जरुरी देखिएको छ । यो मेरो ब्यक्तिगत धारणा हो । राम्रो काम गर्नेलाई अवसर र हौसला दुवै दिनु पर्छ । निस्वार्थ भावले देश र जनताको पक्षमा काम गर्नेको मनोवल बढाईदिनु पर्छ । कसैले कसैको खुट्टा तान्र्ने प्रवृति राम्रो होइन, यसले आफैँलाई घाटा हुन्छ । हाम्रो समाजमा यो प्रवृति अझै हटेको छैन । अब राजनीति दल र तीनका नेताहरूले नेपाली समाजलाई ढाँट्ने ठग्ने दिन गए । समाज धेरै अघि बढेको अवस्था छ । जनतासँग जे बोलिन्छ, त्यो बाचा पुरा गर्ने दिन हो यो । अनि मात्र जनताको साथ र सहयोग रहने छ ।
