रूपन्देही नेकपामा पहिरो गयो, २ हजार २ सय ४९ उद्योगी–व्यवसायीले नेकपा छाडेको घोषणा

२० आश्विन २०७७, मंगलवार १३:०५

बुटवल , प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा लैजान लागेको विरोधमा उत्रिएका रूपन्देहीका नेकपासम्बद्ध उद्योगी–व्यवसायीले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी २ हजार २ सय ४९ उद्योगी–व्यवसायीले नेकपाको सदस्यता त्यागेको घोषणा गरिएको हो । ।

पार्टी त्याग्नेहरूमा नेकपानिकट विभिन्न विभाग र औद्योगिक, व्यावसायिक संघसंस्थाका अगुवाहरू मोतीलाल पाण्डे, एजाज आलम, समुद्र जीसी, माधव नेपाल, बाबुराम बोहोरा, राजेन्द्र ढकाल, कृष्ण घिमिरेलगायत छन् । प्रदेश सरकारले असोज १६ मा राजधानी दाङ लैजाने प्रस्ताव गरेपछि उद्योगी–व्यवसायीहरू रूपन्देही नै राजधानी हुनुपर्ने माग राखी विरोधमा उत्रिएका थिए ।