तत्काल लकडाउन हुँदैनः स्वास्थ्यमन्त्री ढकाल

१६ आश्विन २०७७, शुक्रबार १५:१८

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने स्पष्ट पार्नु भएको छ ।

आज नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री ढकालले हल्लाको पछि नलाग्न सुझाउनु भयो ।
उद्योग–व्यवसाय विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका थिए। स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको भन्दै उनीहरुले फेरि लकडाउन नगर्न स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका थिए।

जवाफमा मन्त्री ढकालले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने सोचको विकास गर्नुपर्ने भन्दै सजगता अपनाएर व्यवसाय गर्न आग्रह गरेका थिए।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउन गर्ने बताएको थियो। अहिले नै सक्रिय संक्रमितको संख्या २२ हजार नाघिसकेको छ।