कोरोना संक्रमणबाट जोगिन बेलैमा होस गरौं

१४ आश्विन २०७७, बुधबार ०८:२१


डा डी आर उपाध्याय,
कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। अव सवैले होसियारी अपनाउनु पर्ने जरुरी देखिएको छ । अव पनि होसियारी अपनाउन सकिएन भने यसले छिटै धेरैलाई सताउने छ । पछिल्ला घटनाले यी कुरा पुष्टि भएका छन् । मुलुकमा कोरोना संक्रमणबाट निको हुने दर ७३.४ प्रतिशत भएको बताइएको छ। संक्रमणको जोखिम कम गर्न सरकारले चालेको कदमको मात्र भर परेर हुदैन , आफनो सुरक्षामा आफै ध्यान दिनु पर्ने आबश्यकता देखिएको छ । यो नै जोखिमबाट बच्ने विकल्प हो।
लकडाउन खुकुलो बनाइएको छ । शैक्षिक संस्था सञ्चालनमा बन्देज लगाइएको छ । उपत्यकामा सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । यो बाहेक कोरोना नियन्त्रणका लागि अन्य बन्देज गरिएको छैन । यसले गर्दा मानिसको आवतजावत बाक्लिदै गएको छ। कोरोनालाई खेलाँची ठान्ने प्रवृत्ति बढेको छ। समस्या यो हो । बेलैमा होस गरौं । कोरोना संक्रमणका कारण मृत्यु हुनेको दर बढेको बढै छ । यो संक्रमण र मृत्यु दर बढ्नुको मुख्य कारण मान्छेहरुको खेलाँची प्रवृति हो। यसबारेमा बेलैमा सोच्नु आवश्यक छ।
चाडपर्व नजिकिँदै छन । गाउँ तथा सहरमा मान्छेहरुको भिडभाडले संक्रमण अझै तीव्ररूपमा बढ्न सक्ने देखिएको छ। छिमेकी भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको छ। दसैंमा बिभिन्न ठाउँबाट आफनो घर फर्किनेको लर्को छ । यदि उनीहरुले सतर्कता नअपनाउने हो भने अहिलेसम्म कोरोनाको संक्रमण शून्य रहेको गाउँ समेत जोखिममा पर्न सक्छन्। यो जोखिमले सबैभन्दा बढी वृद्धवृद्धालाई डस्ने निश्चित छ। विज्ञहरूका अनुसार कोरोना भाइरसले तुलनात्मक रूपमा वृद्धवृद्धालाई छिटो आक्रमण गर्ने गरेको छ। यो कुरा पछिल्ला घटनाले समेत पुष्टि गरिसकेको अवस्था छ। किनकि उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ। यदि संक्रमण भइहालेमा दीर्घरोगबाट पीडित भएकाहरूलाई निको पार्न झनै कठिन हुन्छ।