गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ

११ आश्विन २०७७, आईतवार ०९:३०

झापा , प्रहरीले गोरु काटेर खाएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षकै टिकाराम दनुवार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार उनीहरूलाई झापाको अर्जुनधारा–५ स्थित बैसाबारीबाट पक्राउ गरिएको हो ।

शनिबार उनीहरुले गोरु काटेको, गोरुको टाउको र खुट्टा उखुबारीमा गाडेको खबर स्थानीयले शनिश्चरे प्रहरी चौकीलाई गरेका थिए ।

गाडेको अवस्थामा टाउको र खुट्टा फेला परेपछि तीनै जनालाई पक्राउ गरेको प्रहरीलेले जनाएको छ । उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ ।