
काठमाडौं, काठमाडौं उपत्यकामा भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ। तर, जोर बिजोर प्रणाली लागू हुनेछ। अर्थात जोर गते जोर नम्बर भएका र बिजोर गते बिजोर नम्बर भएका सवारी साधन चलाउन पाइनेछ।
३ भदौदेखि जारी निषेधाज्ञालाई खुकुलो पार्दै जोर बिजोर प्रणालीमा यातायात चलाउन दिने विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच सहमति भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनु भयो ।
उहाँका अनुसार यसअघि बिहान ११ बजेसम्म खोल्ने दिइएका तरकारी तथा खाद्यान्न पसलहरू साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइने भएको छ। यस्तै, होटल, रेस्टुरेन्टहरू पनि समय तोकेर सञ्चालन गर्न दिनेबारे निर्णय भएको बताइएको छ।
अत्यधिक भीडभाड हुने शैक्षिक संस्था सञ्चालन, गोष्ठि, सभा समारोहमा भने प्रतिबन्ध कायमै हुनेछ।
