पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

२६ भाद्र २०७७, शुक्रबार १०:१४

ललितपुर, आज बिहान ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार काठमाडौंका ६३ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो। उनलाई भदौ २४ गते कोरोना संक्रमण देखिएको थियो। त्यही दिन अस्पताल भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको थियो। केही दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। उपचारका क्रममै आज बिहान मृत्यु भएको हो।