राष्ट्रकविको निधनमा राष्ट्रपति देखी मुख्यमन्त्री सम्म दुःखी

३ भाद्र २०७७, बुधबार ०७:१८

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गर्नु भएको छ ।

हिजो साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उनले पुर्याएको योगदानलाई सधैँ सम्झिरहने बताउनु भएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताउनु भएको छ ।

उहाँले पनि हिजो साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने जनाउनु भएको छ ।

राष्ट्रकविको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका उपाध्यक्ष बामदेव गौतम लगायतले दुःख व्यक्त गर्नु भएको छ ।