तुरुन्तै लकडाउन गर नत्र केही हप्ताभित्र मै भयावह हुनसक्छः डा सुन्दरमणि दीक्षित

१८ श्रावण २०७७, आईतवार ०९:३८

काठमाडौँ , शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा चिकित्सकहरुले कोरोना रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलनसक्ने चेतावनी दिएका छन् । उनीहरुले कोरोना रोकथामका लागि भइरहेको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फैलनसक्ने संकेत देखिएको बताएका हुन् ।

वरिष्ठ चिकित्सक डा सुन्दरमणि दीक्षितले अहिलेसम्म कोभिड–१९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताउनुभयो । कोरोना रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखापर्ने निश्चित भएको उहाँको भनाइ थियो ।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवारोग विशेषज्ञ डा बाबुराम मरासिनीले संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा। अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुनसक्ने बताउनुभयो ।