आजदेखि काठमाडौं उपत्यकामा ९५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालनमा आउने

८ भाद्र २०७७, सोमबार ११:१७

काठमाडौं, आजबाट काठमाडौं उपत्यकामा ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालनमा आउने भएको छ। विभिन्न देशबाट वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानमार्फत् आउने नेपालीलाई राख्न एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याउन लागिएको हो। मन्त्रिपरिषदबाट काठमाडौं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको हिजो बसेको बैठकले क्वारेन्टाइन संचालनमा ल्याउने निर्णय गरेको हो।

गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेले काठमाडौंको सामाखुशी र किर्तिपुरमा रहेको राधास्वामी व्यास केन्द्रमा आठ सय जनालाई राखिने जानकारी दिनु भयो । त्यसैगरी स्टाफ कलेज जावलाखेलमा एक सय र भक्तपुरको चाँगुनारायण नगरपालिकाको तेलकोट भवनमा ५० जनालाई राखिनेछ। सरकारले छ हजार जना बस्न सक्ने एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्न भनेकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको समन्वयमा थप स्थानको पहिचान गरिने सहप्रवक्ता लामिछानेले बताउनु भयो ।