नेकपामा पदको होइन, पद्धतिको बहसः दाहाल

१७ श्रावण २०७७, शनिबार ११:३८

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अहिले चर्चा भएजस्तो पदको छिनाझम्ती नभएको बताउनु भएको छ । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने बहसलाई पदसँग जोडिएको बताउनु भयो ।

दाहालले भन्नु भयो , “राजनीतिक अस्थीरता र एकताका निम्ति पद त्याग गर्दै आएका छौं। अहिले बाहिर प्रचार गरिएजस्तो पदको छिनाझम्ती होइन, विधि र पद्धतिकै बहस हो।” पार्टी एकता ठूलो राजनीतिक छलाङ भएको उहाँले बताउनु भयो । दशकौंसम्म बोलचाल नभएका कम्युनिष्ट समूहहरु दश दिनभित्रै एकै ठाउँमा बस्ने अवस्था आएको उहाँले बताउनु भयो ।

पार्टीभित्रको अन्तरद्वन्द्व अस्वस्थ बन्दै गएको भने उहाँले स्वीकारर्नु भयो । तर, कम्युनिष्टहरु जालझेल, छलकपट नअपनाउने भएकाले संघर्ष सधैं तिखो हुने गरेको उहाँले बताउनु भयो । दाहालले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने भएकाले त्यसलाई कदर गर्दै पार्टी अझ माथिल्लो स्तरमा सुदृढ गरिने बताउनु भयो ।

गएको १० असार देखि शुरु भएको स्थायी कमिटी बैठककै बीच नेकपाभित्रको संघर्ष चुलिएको छ। १३ साउनमा स्थायी कमिटी बैठकबारे दुवै अध्यक्षले फरक–फरक निर्णय लिए यता कुनै सम्वाद समेत हुन सकेको छैन।