पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

८ श्रावण २०७७, बिहीबार १२:३१

काठमाडौं , जल तथा मौसम विज्ञान विभागले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले ती क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने भन्दै सतर्क रहन आग्रह पनि गरेको छ ।
भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा सडक यातायातसमेत प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ । बाँकी क्षेत्रमा मौसम बदली रही हल्का तथा मध्यम वर्षा हुने विभागले जनाएको छ ।
आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।